७ भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको हाे ।
लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । तर, उनीहरु निर्णायक वार्ताका लागि बिहान ओलीको निवास पुगेका थिए । नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।
प्रवक्ता प्रदीप ज्ञवालीले भने भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने बताए । भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने जनाइएकाे छ ।