७ भदाै, काठमाडौं।
नेकपा एमालेका सचिव योगेश भट्टराईले कसैलाई पनि विभाजन पक्षमा नजान आह्वान गरेका छन्। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बताएका हुन् ।
उनले भने, ‘म यहाँमार्फत भन्न चाहन्छु। देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरुलाई, हामी कोही पनि विभाजनको पक्षमा नजाऔं। एकताको पक्षमै कायम होऊँ ।’
उनले धीरताका साथ उत्तेजनामा नआइकन धैर्यधारण गर्दै पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सामेल हुन आग्रह गरे। ‘अध्यक्ष कमरेडको पनि त्यो प्रतिबद्धता छ। त्यस अनुसार म सबै कमरेडहरुलाई धैर्यताका साथ धेरै उत्तेजनामा नआइकन, आवेगमा नआइकन धैर्यधारण पार्टी एकताको ऐतिहासक प्रक्रियामा सामेल हुन म तपाईंहरुमार्फत अपिल गर्छु।’
उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने बताए। ‘त्यो कसरी हुन्छ भन्ने कुरा भोलिको बैठकबाट टुंग्याउँछौं’, उनले भने।
आफूहरुले पार्टीभित्र संघर्ष गर्ने कुरामा साथ दिने भने पनि विभाजनको प्रक्रियामा साथ नदिने भनेर नेता माधवकुमार नेपाललाई पहिल्यै स्पष्ट पारिसकेको पनि भट्टराईले बताए।