७ भदाै, काठमाडाैँ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न सहमत भएका छन् । एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमवार भएको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १० बुँदेको कार्यान्वयनमा जोड दिएको र १० बुँदेको कार्यान्वयनको प्रक्रियालाई अझ तिव्रताका साथ अगाडी बढाउने बताए । उनले बैठक सौहार्द र उपलब्धीमुलक भएको भन्दै पार्टी एकतामा देखा परेका समस्याहरु समाधानका दृढतापूर्वक अगाडी बढ्ने विश्वास पनि व्यक्त गरे । १० बुँदेको कार्यान्वयको सम्बन्धमा मंगलवार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने र सो बैठकमा माधव नेपाललाई साथ नदिएका र हालसम्म बैठकमा उपस्थित नभएका स्थायी कमिटी सदस्यहरुपनि सहभागी हुने उहाँले जानकारी दिए । उनले भने – ‘यो छलफलमा मुख्यतया पार्टीको एकतालाई सुदृढ गरेर मुुलुकका सामु उपस्थित चुनौतीहरुको सामना गर्न सक्नेगरी नेकपा(एमाले)लाई सुदृढ गर्ने विषयमा छलफलहरु केन्द्रीत भएका छन् । बैठकको आरम्भमै अध्यक्ष कमरेडले अहिले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न भएका अनेकौ जटिलताहरु, प्रतिकुलताहरु, संविधानको अपव्याख्या गर्दै मुलुकलाई एककिसिमले पश्चगमनको बाटोमा लैजान भइरहेका प्रयासहरु, जनताको आन्दोलन र बलिदानले प्राप्त भएका उपलब्धीहरुलाई खोस्ने, तिनीहरुलाई समाप्त पार्ने दिशातिर भइरहेका प्रयासहरुका बारेमा साथीहरुलाई जानकारी गराउँदै यी सबै कुराहरु अन्त्य गर्नका लागि पार्टी किन एकताबद्ध हुन जरुरी छ भन्ने बारेमा जानकारी गराउनुभयो र एकताका लागि आव्हान गरेका निरन्तर प्रयत्नहरुका बारेमा पनि साथीहरुसँग परामर्श गर्नुभयो । स्थायी समितिका कमरेडहरु जो अहिलेसम्म विभिन्न कारणले बैठकमा सहभागी हुन सक्नुभएको थिएन, उहाँहरुले मुलत्ः असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव, त्यसलाई कार्यान्वयन गरेर लैजाने कुरामा जोड दिनुभयो । छलफलले १० बुँदे प्रस्तावलाई कार्यान्वयनको प्रक्रिया जुन अब सुरु पनि भइसकेको छ । त्यसको कार्यान्वयनलाई अझ तिव्रता दिने, त्यसको कार्यान्वयनलाई अगाडी बढाउने निर्णय गरेको छ । यसको बारेमा थप छलफल गर्नका लागि भोलि ११ बजे पार्टी स्थायी कमिटीको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने निर्णय भएको छ । छलफल असाध्यै सौहार्द, खुलाखुलस्त र उपलब्धीपूर्ण भएको सबै कमरेडहरुको निष्कर्ष छ । यो छलफलपश्चात अब पार्टीको एकतामा देखा परेका जे खालका समस्याहरु थिए, ति समस्याहरु समाधान हुने पार्टी दृढतापूर्वक अगाडी बढ्ने विश्वास हामीले लिएका छौँ ।’
पार्टी एकताका लागि प्रयास गर्दै आएका एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकतावद्ध बनाउनको लागि आफु जिम्मेवार रहेको प्रतिवद्धता अध्यक्ष ओलीले दिनुभएको बताए । मंगलबार बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतीलाई परिस्कृत गर्दै कार्यान्वयनमा लैजाने उहाँले उल्लेख गरे । एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि स्थायी कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुने उनले बताए। उनले भने – ‘आजको छलफलमा अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ । पार्टीलाई एकतावद्ध बनाउने कुरामा आफु जिम्मेवार छु भन्नेकुरा उहाँले राख्नुभएको छ । पार्टीमा सबै साथीहरुलाई समान व्यवहार गर्ने, सबै साथीहरुको पुराना जिम्मेवारीहरुलाई यथावत राख्नेकुरामा अध्यक्षले प्रतिवद्धता दिनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने ऐतिहासिक अभिभारा पुरा गर्न नेकपा(एमाले)लाई एकतावद्ध गर्ने कुरामा आफु लाग्ने अध्यक्ष कमरेडको भनाई आज हामी समक्ष राख्नुभएको छ । हामीले यो एउटा संगिन मोडमा नेकपा(एमाले)को एकतालाई बचाइ राख्नको लागि मुलत्ः १० सदस्यीय कार्यदलले गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले जोड दियौँ । त्यसमा अध्यक्ष कमरेड र हाम्रो बिचमा एउटा सहमती भएको छ । त्यसलाई चाहीँ कार्यान्वयनमा लैजाने, कार्यान्वयनको प्रक्रिया अगाडी बढाउने, र त्यसको कार्यान्वयनको ठोस मोडालिटीहरु बनाउनको लागि भोली नै स्थायी कमिटीको बैठक आव्हान गर्ने । र त्यो स्थायी कमिटीको बैठकले १० बुँदेको कार्यान्वयनको लागि एउटा तिथिमिति सहितको कार्ययोजना स्थायी कमिटीले अगाडी सार्छ, र लगत्तै हामी केन्द्रीय कमिटी पनि आव्हान गर्छौ । केन्द्रीय कमिटीले अझ परिस्कृत गरेर अगाडी बढाउँछ । र आजको छलफलको निष्कर्ष के हो भने १० बुँदेले भने अनुसार २०७५ साल जेठ २ गते कायम भएका एमालेका केन्द्रदेखि, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडातह, टोल सम्मका सम्पूर्ण कमिटीहरु थिए ति क्रियाशिल हुन्छन् आजको हाम्रो छलफलको पहिलो निष्कर्ष त्यो हो । कसरी क्रियाशिल हुन्छन् भोली हामी स्थायी कमिटीमा समग्र ढाँचा प्रस्तुत गर्छौ । र एमाले हुँदाका बखत ०७५ साल जेठ २ गतेको अवस्थामा जुन जुन नेताहरुको जिम्मेवारी जे थियो, त्यो जिम्मेवारी यथावत् रहन्छ । साथै स्थायी कमिटीको बैठक मार्फत् पार्टी दर्ताको अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहनुभएका नेताहरुलाई त्यो प्रक्रियाबाट फर्कन, त्यो प्रक्रियालाई स्थगित गर्न र पार्टी एकतामा फर्कन र पार्टी एकतामार्फत् नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न स्थायी कमिटीको बैठक मार्फत् सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई अपिल गर्छौ ।’
बिगतमा नेता माधवकुमार नेपाल पक्षमा सामेल भएका स्थायी कमिटी सदस्यहरु पार्टी एकताको पक्षमा रहदै नेता नेपाललाई साथ दिएका छैनन् । पार्टी एकताको प्रयासमा जुटेका स्थायी कमिटीका सदस्यहरुसँगको अध्यक्ष ओलीको सोमबारको बैठकलाई निर्णायक मानिएको छ ।