तुइनको अनुसन्धानमा कहाँ अल्मलियो छानविन टोली ?

तुइनको अनुसन्धानमा कहाँ अल्मलियो छानविन टोली ?

७ भदौ, काठमाडौँ ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिकास्थित महाकाली नदीमा राखिएको तुइन भारतीय सुरक्षा बल एसएसबीले काटिदिँदा नदी पार गर्ने क्रममा नदीमा बेपत्ता भएका भनिएका नेपाली युवा जयसिंह धामीको अझैसम्म अत्तोपत्तो छैन । घटना भएको तीन साता नाघिसक्योे तर जयसिंहको सास छ न लाश छ । सरकारले १० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिएर गठन गरेको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले दुई पटक थपिएको म्याद सकिन लाग्दा समेत घटनाको वास्तविकता बाहिर ल्याउन सकिरहेको छैन ।

उक्त घटनामा आफ्नो संलग्नता नभएको भारतीय एसएसबीले बताएको छ । तर उनीहरुको मनाइ मान्न दार्चुलाका नेपाल तयार छैनन् । यता नेपाली अनुशन्धान टोलीले भने न भारतीय एसएसबीको कुरालाई नकार्न सकेको छ न त सकार्न नै । टोलीलाई उल्टै अनुशन्धानका क्रममा ड्रोन उडाउन भारतीय पक्षले असहयोग गरेको छ । यो अवस्थामा आफूहरू अझै पनि निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गर्दै सहसचिव गौतमले मंगलबार पनि प्रतिवेदन तयार हुने नहुनेमा शंका ब्यक्त गरेका छन् । उता मन्त्रीविनाको परराष्ट्र मन्त्रालयले भने प्रतिवेदन कुरिरहँदा न भारतसंग यस बारेमा कुरा राख्ने आट गरेको छ न त स्पष्ट धारणा नै बनाउन सकेको छ ।

संसदका हरेक जसो बैठकमा तुइन प्रकरणबारे सासदहरुले सरकारलाई र्याख्र्याख्ती गर्ने गरेकोमा सरकारले संसद अधिवेशन अन्त्य गरिदिएपछि अहिले सरकारमाथि घटनाका विषयमा खास खबरदारी पुग्न नसकेको त्यस क्षेत्रका नागरिकको आशय छ । भारतीय सुरक्षाकर्मीका कारण तुइनबाट खसेर आफ्नो नागरिकको मृत्यु भएको महिना दिन हुनै लाग्दासमेत सरकारले न सत्यतथ्य पत्ता लगाउन सक्यो, न भारतसंग वार्ता गर्न सक्योे भन्दै नागरिक स्तरमा सरकार आलोचित छ ।

यसैबीच महाकालीमा बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय हस्ताक्षर संकलन गरिएको छ । डडेलधुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताएका छन् । बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको उनले बताएका छन् ।

नयाँ सरकार गठन भएको ४० दिन वितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसक्दा परराष्ट्र मन्त्रालय मन्त्री बेगर छ । देउवा आफैसंग परराष्ट्र मन्त्रालयको जिम्मेवारी छ । संयोगवश यतिबेला भारतीय सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले काँग्रेसकै निमन्त्रणमा काठमाडौंमा छन् । उनको देउवासंग पनि भेटवार्ता समेत भइसकेको छ । बुधबारसमम्म चौथाइवालेसहितका भाजपाका नेताहरु काठमाडौंमै रहने छन् । यहि मौकामा प्रधानमन्त्री देउवाले जयसिंह धामीको कुरा औपचारिक वा अनौपचारिक रुपमै भएपनि उठाउनु पर्ने कुटनीतिका जानकारहरु बताउँछन् ।

यसैपनि पछिल्लो समय नेपाल भारतबीचको सम्बन्धमा अस्पष्टता र विश्वासको सङ्कटको बढ्दै गएको छ । यस्तोबेला तुइन प्रकरणलाई जति लम्ब्यायो उति नै नकारात्मकता बढ्दै जाने हुँदा सरकारले आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र नभई तुइन घटनाको वास्तविकता खोली संवादमार्फत किनारा लगाउनु उपर्युक्त देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.