९ भदाै, काठमाडौं ।
पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा संलग्न रहेकाे आरोप लागेपछि रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निमय विपरित घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध प्रयोग गरेको सम्बन्धमा एसपी शाहमाथि छानविन शुरु भएको छ । घुमुवा प्रहरीले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको विषयमा एसपीकै संलग्नता रहेको आरोप लागेकाे छ ।
उक्त घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा समिति गठन गरेको छ । पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन घुमुवा प्रहरीले लागुऔषध राखिदिएको घटना सार्वजनिक भएको थियो ।
एसपी शाहले घटना लगतै दोषी भनिएका पत्रकारसँग गरेको कुराकानीको अडिओ पनि सार्वजनिक भएको छ । गत साउन ३२ गते मोजिबुल्लाहको मोटरसाइकलबाट प्रहरीले लागुऔषध बरामद गरेको दाबी गरिएको थियो । तर लागूऔषध कारोबारमा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै पत्रकारलाई सोमबार छाडिएको थियो ।
प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत बेवास्ता गरेको पनि पाइएको छ । पत्रकारलाई लागूऔषधमा फसाउन खोज्ने दुई जना घुुमवा प्रहरी अहिले निलम्बनमा छन् ।