गण्डकीका मन्त्रीहरूको सम्पत्ति : कराेडाैँकाे लगानी, किलोमा सुनचाँदी

गण्डकीका मन्त्रीहरूको सम्पत्ति : कराेडाैँकाे लगानी, किलोमा सुनचाँदी

९ भदाै, पोखरा ।

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको पदमा बहाल भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप मुख्यमन्त्रीसहित मन्त्रीहरूले बुधवार ७२ दिनपछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा प्रदेशसभा मन्त्री विन्दुकमार थापाको सबैभन्दा बढी सम्पत्ति देखिएको छ ।

थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल रहेका ६ वटा घर तथा पोखरा बुटिक होटल, बगैँचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्ट छ ।

थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुई वटा गाडी, ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा र विभिन्न बैङ्क तथा वित्तीय संस्थामा शेयर रहेको छ ।

विभिन्न बैङ्कबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको सम्पत्ति विवरण देखाउनुभएका मन्त्री थापाले बैङ्कमा जम्मा ५० हजार रहेको देखाएका छन् । उनको पोखराका विभिन्न ठाउँमा जग्गा छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानीले बनेको साढे दुई तले पक्की घर देखाएका छन् । तनहुँको ३ ठाउँमा र काठमाडौँमा उहाँका जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले कृषि विकास बैङ्कबाट २५ लाख रुपैयाँ ऋण लिएको पनि उल्लेख गरेका छन् भने ५ तोला सुन पनि छ । मुख्यमन्त्री पोखरेलसँग एभरेस्ट बैङ्कमा तलब ५ लाख रुपैयाँ बचत भएको पनि उल्लेख छ ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौँ नागार्जुनमा घर छ । आफूसहित परिवारका सदस्यको नाममा काठमाडौँको ४ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ भने श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उहाँसँग ७ किलो २ तोला चाँदी, एउटा हिराको औँठी र नगद मौज्दात १५ लाख रुपैयाँ पनि छ ।

उनको परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैङ्क तथा वित्तीय संस्थामा बचत तथा शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले सिटिजन्स बैङ्कबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएको पनि देखिएको छ । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलको बागलुङमा श्रीमतीको नाममा ४८ लाखको घर, रुपन्देहीमा ५७ लाख, चितवनमा ६३ लाखको जग्गा रहेको छ । ३ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको पनि उल्लेख छ ।

२५ तोला सुन र १ किलो चाँदी सम्पत्ति देखाउनुभएका कँडेलको करिब ३ लाख रुपैयाँ विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा बचत र ८० लाख रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ ।

भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा महानगरपालिका–१६ मा घर रहेको, विभिन्न बैङ्क तथा वित्तीय संस्थामा १ करोड ३३ हजार रुपैयाँ बचत रहेको, अमरदीप सहकारीमा ५१ लाख ५० हजार रुपैयाँ, जन्मभूमि एजुकेसन फाउण्डेसन प्रालिमा ५ लाख सेयर रहेको, उज्ज्वल खड्कालाई ६० लाख रुपैयाँ र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको विवरण सार्वजनिक भएको छ भने उनको श्रीमतीको नाममा ४२ लाखको गाडी रहेको छ ।

अर्थमन्त्री रामजी बरालसँग पोखरा महानगरपालिका–२२ मा १ रोपनी ४ आना जग्गा तथा ४७ लाख रुपैयाँमा अर्को जग्गा किनेको, ३ लाख रुपैयाँ नगद तथा ४ तोला सुन र एभरेस्ट बैङ्कमा तलब बापतको ३ लाख रुपैयाँ रकम बचत भएको उल्लेख छ ।

उनको बैङ्क र कम्पनीमा शेयर लगानी रहेको छ भने एनआइसी एसिया बैङ्कमार्फत १ करोड रुपैयाँ ऋण लिएको उल्लेख पनि गरेका छन् ।

जनयुद्धमा श्रीमान् गुमाएकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारीसँग शहीद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवनको २ ठाउँ र मकवानपुरको १ ठाउँमा जग्गा किनेको उल्लेख गरेकी छन् ।

अधिकारीसँग ३ तोला सुन, विभिन्न बैङ्कमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको र लमजुङको दुधपोखरीमा १ लाख ५३ हजार वर्ग मिटर जग्गा र त्यहाँ घर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले छोराछोरीको रेमिट्यान्सबाट पोखरा महानगरपालिका–१४ मा ४० लाख रुपैयाँमा जग्गा किनेका र स्याङ्जा बिरुवामा २ वटा घर रहेको जनाउनुभएको छ ।

उनीसँग ३० तोला सुन र २० तोला चाँदी, विभिन्न बैङ्कमा १५ हजार नगद छ भने थापाले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख पनि गरेका छन् ।

जनता समाजवादीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको गोरखा पालुङटारमा बुवाको नाममा पुर्ख्यौली संयुक्त घर जग्गा छ ।

श्रीमती गङ्गा सुनारको नाममा पालुङटारमै ३ लाखको जग्गा छ भने ८ तोला सुन र ५ तोला चाँदी रहेको मन्त्री आचार्यले सार्वजनिक गरेका छन् ।

मन्त्री आचार्यको विभिन्न बैङ्कमा ५० हजार बचत छ भने कृषि विकास बैङ्क र प्रभु बैङ्कबाट ५० लाख ऋण लिएर फर्निचर उद्योग खोलेको बताइएको छ ।

युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले भने अझै सम्पत्ति विवरण बुझाएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.