धितोपत्र बोर्डबाट बाहिरिए चन्द्र ढकाल, महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन आग्रह

धितोपत्र बोर्डबाट बाहिरिए चन्द्र ढकाल, महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन आग्रह

९ भदाै, काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका छन्। ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।

ढकालले आफू उक्त पदमा बस्न नचाहेको भन्दै महासंघ अध्यक्ष शेखर गोल्छालाई पत्र लेखेको जानकारी दिइएको छ। महासंघको तर्फबाट अर्को व्यक्ति पठाउन उनले अध्यक्ष गोल्छालाई आग्रह गरेका छन्।

‘म महासंघको वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मलाई प्रतिनिधि पठाइएको थियो, मभन्दा अगाडि शेखर जी वरिष्ठ उपाध्यक्ष हुँदा उहाँ नै सञ्चालक हुनु भएको थियो,’ ढकालले भने, ‘मलाई पहिले पनि सञ्चालकको रुपमा काम गर्ने मन थिएन, तर वरिष्ठ उपाध्यक्ष नै प्रतिनिधिको रुपमा जाने प्रचलन भएका कारण आफू त्यहाँ गएको थिएँ ।’

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका हुन्। बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउद, बोर्ड सदस्य ढकाललगायत मुछिएका थिए।

नियामक निकायको नेतृत्वमा बसेर बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्न अनुमति दिनुअघि उक्त कम्पनीको सेयर नियमविपरीत परिवारको नाममा खरिद गरेको आरोप उनीहरुमाथि लागेको छ। यस सम्बन्धमा अर्थ मन्त्रालयले छानबिन गरिरहेको छ।

ढकालका भाइले उक्त कम्पनीको खरिद सेयर खरिद गरेको खुलेपछि उनी पनि यो विवादमा मुछिएका थिए। ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवाद समेत भएको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.