१० भदौ, काठमाडौं ।
एमालेको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन् ।
पार्टी विभाजनपछि पहिलोपटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको छ ।
गौतम यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका थिएनन् । एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिसकेका छन् । गौतमले माधव नेतृत्वको नयाँ दलमा पनि गएका छैनन् ।
साविक नेकपा हुँदै एमालेको आन्तरिक शक्ति संघर्षमा कहिले नेपाल समूहमा त कहिले संस्थापन ओली समूहमा देखिँदै आएका नेता गौतम एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि आफ्नो बाटो तय गर्न मनस्थितिमा देखिएका छन् । त्यसैले उनी अझै केही दिन ‘पर्ख र हेर’ को मनस्थितिमा छन् ।