काँग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने

काँग्रेस महाधिवेशनः निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गरिँदै, भोलि निर्वाचन सामग्री वितरण हुने

१० भदौ, काठमाडौँ ।

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा तयारीका कामहरु धमाधम भइरहेका छन् । क्रियाशील सदस्यताको विषय टुंग्याएपछि महाधिवेशन तयारीको विषयले तिब्रता पाएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रशासनिक कामहरु धमाधम भइरहेको जानकारी दिए ।

उनका अनुसार विवाद नरहेका ४० जिल्लाका क्रियाशील सदस्यताको पोको पारेर ठिक पारेर राखिएको छ । अन्य जिल्लाबारे पनि तयारीहरु भइरहेको उनले जानकारी दिए ।

उनले पहाडी र दुर्गम जिल्लाहरुमा शुक्रबार काठमाडौंबाट निर्वाचन सामग्रीहरु वितरण गरिने जानकारी दिए । उनले भने, ‘क्रियाशील सदस्यता, निर्वाचन निर्देशिकालगायतका निर्वाचन सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । दुर्गम र पहाडी जिल्लाहरुमा सबैभन्दा छिटो हुने यातायातका साधनबाट भोलि नै सामग्री पठाउँछौं ।’

केन्द्रीय निर्वाचन समितिले विहीबार निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृतहरुको अनुशिक्षण सकिएपछि उनीहरुलाई शुक्रबार नै जिल्लामा खटाइने छ ।

निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतहरु जिल्ला जिल्लामा पुग्ने छन् । निर्वाचन समितिले निर्वाचन अधिकृत र केन्द्रीय प्रतिनिधिहरुको नाम भने गोप्य राखेको छ ।

यही भदौ १८ मा देशभरका सबै वडाहरुको अधिवेशन गर्ने मिति तोकिएकाले सोही मितिमा अधिवेशन गर्ने गरी कामहरु भइरहेको छ । तर कतिपय काँग्रेस नेताहरुले भने १८ गते वडा अधिवेशन गर्न समय नपुग्ने बताइरहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै केन्द्रीय कार्यलयमा धर्ना दिएकाले पनि केही समयस्या हुन सक्ने जनाइएको छ । जिल्ला सभापतिहरुको धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत देउवा इतर समूहका नेताहरुले समर्थन जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.