११ भदाै, एजेन्सी ।
पोर्चुगिज कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर सिटी आउने लगभग पक्का भएको छ ।
युभेन्टसका ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् । उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका जनाइएकाे छ।
रोनाल्डोका एजेन्ट जर्ज मेन्डीले म्यानचेस्टर सिटीसँग आधिकारिक सम्झौता गर्न पर्खिरहेको बताएका छन् । अहिले पनि एजेन्ड मेन्डिज र म्यानचेस्टर सिटीबीच उनको तलबबारे छलफल भइरहेको बताइएको छ ।

इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले मात्रै रोनाल्डोलाई भित्र्याउने इच्छा देखाइरहेको छ । रोनाल्डो २००९ पछि पुन: इङ्लिस फुटबलमा फर्किने निश्चित भइसकेको छ ।
पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइेडबाट स्पेनिस क्लब रियाल मड्रिड गएका थिए । सन् २००३ देखि युनाइटेडमा खेलेका रोनाल्डोलाई तत्कालीन समयको कीर्तिमानी ८० मिलियन पाउन्डमा रियाल मड्रिडले किनेको थियो ।
त्यसपछि ९ वर्षको रियाल बसाई टुङ्ग्याएर उनी इटालियन साइड युभेन्टसमा अनुबन्ध भएका थिए । उनलाई क्लबमा भित्र्याउन युभेन्टसले २०१८ मा १०० मिलियन पाउन्ड खर्चेको थियो ।