११ भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्धारित समयमा हुने नहुने अन्यौलता अझै काग्रेस भित्र यथावत रहदा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । यससंगै उनले काठमाडौको थापागाउँस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय पनि खोलेका छन् ।
शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसका लागि बहुमत ल्याउन उम्मेदवारी दिएको बताएका छन् । उनको आशय आफू सभापति बने मात्रै कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने थियो । उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताएका छन् । काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन र संविधानको अपनत्वका लागि पनि आफूले उम्मेदवारी दिएको उनले बताए । यस्तै क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन समेत रहेको उनले जनाए ।
धार्मिक पूजा गर्दै सम्पर्क कार्यालय उद्घाटन गर्न पुगेका निधि बानेश्वर ब्यांकेटमा पुग्दा कार्यकर्ताहरुले पार्टी सभापति विमलेन्द्र निधि जिन्दावाद भन्दै नारा लगाएका थिए । आउँदो मंसिरमा हुने भनिएको १४ औं महाधिवेशन लक्षित गर्दै निधिले बानेश्वर ब्यांकेट नै बुक गरेर सम्पर्क कार्यालय खोलेका हुन् । उनी महाधिवेशनका लागि ब्यापक रुपमा लागेका छन् । महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्यांकेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ । निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ । महाधिवेशन लक्षित गर्दै ५०० जना अट्ने बैठक कक्षको समेत व्यवस्था गरिएको छ ।
सरकारले हाल पार्टी प्यालेस, ब्याकेंटहरु संचालन गर्न अनुमति दिएको छैन । साथै, संक्रमणको जोखिम अझै रहेकोले भिडभाड नगर्न समेत आग्रह गरेको बेला सत्तारुढ दलका उपसभापति निधिले ब्यांकेटमा नै सम्पर्क कार्यालय खोलेर भिडभाडबिच उद्घाटन गरेका छन् । निधिले भोलिबाट सबै भेटघाट यहीँबाट गर्ने बताइएको छ । यस्तै सम्पर्क कार्यालयको उद्घाटनका क्रममा निधिले नेता–कार्यकर्ता भन्दा बढी धर्मगुरुहरूमा विश्वास रहेको जिकिर गरेका छन् । सम्पर्क कार्यालयमा पूजा गर्न उनले पशुपतिनाथका भण्डारी, जानकी मन्दिरका महन्थहरू, दक्षिणकाली, सूर्यविनायक मन्दिर र डोलेश्वर महादेवका पूजारी लगायतलाई बोलाएका थिए । यस्तै, बुद्ध धर्मका लामाहरूलाई २१ ताराको पूजा गर्न लगाएका थिए । कार्यक्रममा मुस्लिम धर्मका मौलानाहरूलाई पनि बोलाइएको थियो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, राजयोग ज्योतिषीलाई बोलाएर कार्यालय उद्घाटन गरिएको थियो ।
कार्यक्रममा निधिले धर्मगुरुहरूमाथि आफूलाई निकै विश्वास रहेको बताएका थिए । यस्तै निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संकेत गर्दै निधीले आफूले कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न तथा कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गरेका छन् ।