११ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएको संचारमाध्यमहरुले दाबी गरेका छन् । अष्ट्रेलियन समाचार संस्था न्युज नाइनका अनुसार ह्वाटमोरका व्यवस्थापक कौस्तभ लाहिरीले यसको पुष्टि गरेका छन् । यसबारे नेपाल क्रिकेट संघ (क्यान) ले भने अहिले केहि भन्न नसकिने जनाएको छ ।
भारत र अष्ट्रेलियाका केही सञ्चार माध्यममा यसबारे समाचार छापिएको छ । संचारमाध्यमले ह्वाटमोरका व्यवस्थापक लाहिरीलाई उदृत गर्दै ह्वाटमोरले ओमान भ्रमणपछि पद त्याग्ने भन्दै राजीनामा बुझाएको जानकारी दिएका छन् ।
क्यानका सचिव अशोकनाथ प्याकुर्यालले यसबारे प्रशिक्षक र उनको एजेन्टबाट हालसम्म यकिन जानकारी आइनसकेको बताए । उनले क्यानले यसबारे भोली आफ्नो धारणा राख्ने पनि जानकारी दिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ ।
ह्वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो । उनी अब्बल प्रशिक्षको रुपमा चिनिन्छन् । उनको प्रशिक्षणबाट पछिल्लो नेपालको खेल निकै सुधारिएको बताइन्छ ।