१२ भदौ, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीविरुद्धको लडाइमा अघि सर्ने दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् ।
शनिबार पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई उक्साउनेहरुले धोका दिएको बताए ।
उनले भने, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन् ।’
उनले ओलीविरुद्धको लडाइमा तीनै नेताहरुले भनेबमोजिम कदम चालेको र, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सफल पनि भएको बताए ।
उनले भने, ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए । उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार र्गयौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो।’
लामो समय नेपालसँगै रहेर अन्त्य अवस्थामा छाडेर हिँड्नेहरुमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलसहित घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत रहेका छन् ।