१४ भदौ, काठमाडौं ।
लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ ।
बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।
एकतर्फी रुपमा सडक खुले पनि गाडी चापमा चलिरहेका प्रहरीले जनाएको छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका थिए । हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो ।