१४ भदौ, काठमाडौं।
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल कठिन प्रतिद्वन्द्वी रहेको बताएका छन्। यसै साता हुने दुई मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोलीसहित सोमबार काठमाडौं आइपुगेका क्षेत्रीले यो खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘कोरोना महामारीका कारण अहिले हाम्रो देशमा लिग छैन। यो खाली समयमा हामीले नेपालसँग खेल्न राम्रो तयारी पनि गरेका छौं। सतप्रतिशत जीतका लागि खेल्छौं ।’
आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारत भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल्दै छन्। त्यसैका लागि भारतीय फुटबल टिम आज काठमाडौं आइपुगेको हो।
भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीलगायतका पदाधिकारीहरूले स्वागत गरेका थिए।