भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड

भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड

१५ भदाै, झापा ।

भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए ।

सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा साेमबार बिहान भेटिएको उनले जानकारी दिए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । “सालिक भएको स्थान वरपरका बासिन्दासँग सोधपुछ गरिरहेका छौँ,” थापाले भने, “पहिले पनि तोडफोडको प्रयास भएको भन्ने सुनेका छौँ, समितिका पदाधिकारीहरूबाट पनि जानकारी लिइरहेका छौँ ।”

सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन् । साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे । केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.