प्रदेश १ प्रहरी तालिम केन्द्रबाट ६ सय ७१ प्रहरी जवान दिक्षित

प्रदेश १ प्रहरी तालिम केन्द्रबाट ६ सय ७१ प्रहरी जवान दिक्षित

१५ भदाै, बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १३८ औँ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।

गत वर्षकाे मंसिर ३ गते देखी संचालित प्रहरी जवान १३८ औँ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा दिक्षित गरिएकाे हाे।

प्रहरी जवान १३८ औँ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ४८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा- ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएका थिए । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सपथ गराएकी थिइन् ।

प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतम कुमार मगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।

 

बि.सी.ले कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेशगर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरेका छन् । साथै उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिएका छन् ।

नौ महिनाको आधारभूत तालिम अवधी समाप्त गरी दिक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनिहरुको आ-आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.