१५ भदौ, काठमाडाैँ ।
वाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गर्ने भएको छ । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै नेकपा(एस)का सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । १२ सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेसँगैे मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ । मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । सांसद राजेन्द्र पाण्डेले भने ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं । त्यो दिनदेखि सरकार अल्पमतमा प¥यो ।’
यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै उनले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवारका लागि पार्टीले आफुलाई नै अगाडि सारेको उनले बताए । उनले भने–‘सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’