काठमाडौं : व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई मंगलबार बुझाएको प्रतिवेदनमा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको भनिएको छ ।
समितिले घटनामा भारतीय सुरक्षाकर्मी एसएसबीको संलग्नताका विषयमा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘समितिले तयार गरेको प्रतिवेदनले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखाएको छ ।
उनीहरूको संलग्नता सम्बन्धमा पुनः अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन प्रतिवेदनमा सुझाइएको छ,’ गृह प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन् । प्रतिवेदनमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट थप अनुसन्धानमा पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि सिफारिस गरिएको छ ।
गत १५ साउनमा महाकाली नदी तर्ने क्रममा धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।