विराटनगर,असार २७
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले आफनो सातौं स्थापना दिवसको अवसरमा आज तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
सहकारी संस्थाले विराटनगरका पत्रकार अभयकुमार राईलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजिवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।यस्तै इलामका पत्रकार भीम चापागाईंलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार र उर्लाबारीबाट पत्रकारिता गर्दै आएकी ज्योति चौहानलाई मिना श्रेष्ठ श्रमजीवि महिला राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरे र सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन भण्डारीले उनीहरुलाई सम्मान गरेका हुन । राईलाई नगद २१ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै आर्थिक पत्रकारिता पुरस्कारको राशी ३१ हजार र महिला श्रमजीवि पुरस्कारको राशी नगद १० हजार र सम्मानपत्र रहेको छ । सो अवसरमा बोल्नुहुँदै मन्त्री घिमिरेले पत्रकारहरु समाज परिवर्तनका संवाहक रहेकाले पत्रकारिता पेशालाई व्यवस्थित बनाइनुपर्ने बताए ।
उनले पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसकेकाले पत्रकारिता पेशाबाटै पलायन हुने अवस्था रोक्न सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिएका छन ।