१६ भदौ, विराटनगर ।
प्रदेश १ मा एमालेका १० जना सांसदहरुले पार्टी वभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । बुधबार उनीहरुले निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।
समाजवादीमा लाग्ने सांसदहरुमा राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, सावित्राकुमारी रेग्मी,कृष्णकुमारी राई र उपेन्द्र घिमिरे रहेका छन् ।
१० जना सांसदहरुले सनाखत गरेसँगै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमत परेको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १–१ जना छन् ।
प्रदेशसभामा रहेको एमालेको एकल बहुमत कायम राख्नकै लागि एमालेले मुख्यमन्त्री परिवर्तन गरे पनि बहुमत जोगाउन नसकेको अवस्थामा पुगेकोले मुख्यमन्त्री आचार्यको पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।
सनाखतपछि सञ्चारकर्मीसँग बाेल्दै सांसद् राजेन्द्रकुमार राईले निर्वाचन कार्यालयले प्रदेशसभा सचिवालयमा पत्र पठाएको दिनदेखि कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु गर्ने बताए ।