१७ भदाै, एजेन्सी ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध भएकाे खेलमा २ गोल गरेसँगै उनले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् ।
यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ सय १० औं गोल गरेका रोनाल्डोले इन्ज्युरी समयमा विजयी गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याए । रोनाल्डोले पोर्चुगलकाे राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् ।
उनले युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका थिए । उनले युरोको समूह चरणमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।