स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्

स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्

काठमाडौं : सर्वोच्च अदालतले विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका–ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो । ती बिरामीलाई उनका काका–ससुराको मिर्गाैला उनको मन्जुरीमा प्रत्यारोपणका लागि चिकित्सकीय सहमति माग गर्दा प्रचलित मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)को कानुनी व्यवस्थाबमोजिमको नजिकको नातेदार नभएको भन्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रत्यारोपण गर्न इन्कार गरेको थियो ।

काका–ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि अस्पतालले प्रत्यारोपण गर्न इन्कार गरेपछि सोविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उनको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले भनेको छ, ‘ऐनको मूल उद्देश्य मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिदबिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ । ‘काका–ससुरालाई ऐनमा स्पष्ट रूपमा (प्रत्यारोपणका लागि) बाहेक गरेको देखिँदैन ।’

‘नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकका रूपमा प्रत्यापन गर्नका साथै मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रावत ऐनको मूल उद्देश्य नै मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिदबिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’, फैसलामा भनिएको छ, ‘मानव अंग प्रत्यारोपण सम्बन्धमा पूजा खत्रीविरुद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंसमेत (०६९–डब्लु व–००५९)को मुद्दामा समेत मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्या गरेको देखिन्छ । काका–ससुरालाई मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)ले स्पष्ट रूपमा बाहेक गरेको देखिँदैन ।’,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.