१७ भदौं, काठमाडौं।
सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौं हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिए ।
नेपाली कांग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया शुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।