१८ भदौं, काठमाडौं।
विवाद हुने देखिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी निकट कानुन व्यवसायी संगठनको भेलामा नजाने निष्कर्षमा पुगेका छन् । एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) ले ओलीलाई प्रमुख अतिथि बनाएर शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।
एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै नदिइ भेला राखेपछि विवाद भएको छ ।
उक्त भेलामा सहभागी भए फेरि विवाद बढ्ने भन्दै एमाले नेताहरुले नजान सुझाव दिएपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिएका हुन् । कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएकाे जनाइएकाे छ । ओलीलाई एमाले नेता रघु पन्तसहितले विवाद जन्मिन सक्ने भएकाले त्यस कार्यक्रममा उपस्थित नहुन सुझाएका थिए ।
२०७५ जेठ २ अघिसम्म पीपीएलएका इन्चार्ज रहेका पन्तले भेला रोक्न भने पनि महासचिव ईश्वरी भट्टराईसहितले नरोक्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष नेपाललाई पनि थाहै नदिइ उक्त कार्यक्रम तय गरेका थिए ।
उनको सचिवालयका अनुसार आज आराम गर्ने भन्दै ओली बालकोट नै बसेका छन् । अध्यक्ष नेपालले भने पीपीएलएको अध्यक्ष आफू भएकाले २०७५ जेठ अगाडिको संरचना अनुसार कार्यक्रम हुनुपर्ने अडान लिएका छन् ।