१८ भदाै, काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।
उनले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र एमाले कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । गाैतम एमालेबाट विभाजित भएर बनेकाे नेकपा (एकीकृत समाजवादी) मा सहभागी हुने गरी पार्टी छोडेका हुन् ।
माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेलगत्तै उनले आफ्नो समर्थन रहने बताएका थिए। तर, नयाँ पार्टीले जनताको बहुदलीय जनवाद (जबज) विचार नबोक्ने भनेपछि असन्तुष्टि जनाउँदै आएका थिए ।
गौतमले ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा ओलीलाई कार्यशैली जनमुखी बनाउन धेरै सुझाव दिएपनि अझ बढी व्यक्तिबादी र स्वेच्छाचारी बनेको बताएका छन् । गौतमले ओलीलाई आफ्ना समकक्षी कमरेडहरुलाई पनि आफ्नो गलत विचारअनुसार नचल्दा पार्टीबाट निकाल्नेसम्म कारवाही गरेको भनेका छन् ।
उनले आफु संलग्न भएर निर्माण गरेको पार्टीमा ओलीकै गलत,विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन नसकिएको बताएका छन् ।
