१९ भदाै, दैलेख ।
दैलेखमा एक १९ वर्षीया किशोरी नेपाली कांग्रेसकाे वडा समिति सभापतिमा निर्वाचित भएकी छन् । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।
स्वस्तिका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले समेत साथ दिएका थिए ।
युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीतिअनुसार स्वस्तिकालाई वडा सभापति बनाइएको दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले बताए ।
स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो। स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्।