१९ भदाै, काठमाडाैँ ।
एमाले अध्यक्ष केपी ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी रुखो टिप्पणी गरेका छन्। शनिबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा सम्बाेधन गर्दै उनले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कतै पनि नदेखेको बताए।
उनले भने, ‘वामपन्थी सरकार ढालेर, विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गर्ने? यतिसारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे कहीँ देखिनँ । दुनियाँ देश गएँ, तर कतै देखिनँ।’
उनले माधव नेपाल किन यतिसाह्रो कम्युनिष्ट विरोधी भए भन्ने आफूले थाहा नपाएको बताए। ओलीले माधव नेपालको काम नै, जिम्मा नै एमालेलाई बदनाम, कमजोर बनाउने र चरित्रहत्या गर्ने भएको बताए। उनले भने, ‘उनी कित यति कम्युनिष्ट विरोधी भए, कम्युनिष्ट सुन्नै नसक्ने भए। समाजवादी रे, कांग्रेसको एस पार्टी, वामपन्थी सरकार ढाल्ने, विरोधीको सरकार बनाउने अनि प्रतिक्रान्ति रोकेँ भन्ने?’
माधव नेपाल जुन खाटमा बसेका थिए अहिले बञ्चरोले त्यही खाटलाई हानेको हानै गरिरहेको ओलीले बताए। ‘जुन मन्दिरमा पूजा गर्थे अहिले थुकेको थुकै छन्। पतन भएको त्यही हो, सर्वनाश,’ ओलीले भने।
उनले समाजवादी पार्टीमा अन्तिममा माधव नेपाल मात्रै रहने पनि बताए। ‘माधव नेपाल विपक्षी गठबन्धनमा पाँच पार्टी भनेर पुगेका थिए, जतिबेला उनको पार्टी नै थिएन, त्यसकारण उनी एक्लै पार्टी, माधव नेपाल पार्टी, अन्तिममा हुने पनि मात्रव नेपाल मात्रै हो, उनी एकीकृत नै रहन्छन्,’ उनले भने।