स्मार्ट लाइसेन्स प्रिन्ट रोकियाे, विदेश जानेलाई मात्र उपलब्ध

स्मार्ट लाइसेन्स प्रिन्ट रोकियाे, विदेश जानेलाई मात्र उपलब्ध

काठमाडौँ: यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट रोकिएको छ । प्रिन्ट कार्ड अभाव भएपछि काम रोकिएको हो । टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मेसिन बन्द गरेको छ । अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ ।

लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको सङ्ख्या सात लाख छ । उनीहरूले राजस्व बुझाइसकेका छन् तर सेवा पाएका छैनन् । विगत छ, वर्षदेखि विभागले मागअनुसार लाइसेन्स वितरण गर्न सकिरहेको छैन । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू गरिएपछि विभागले काम गर्न नसकेको हो ।

परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ । यसअघि मासप्रिन्टर तीन सिफ्टमा सञ्चालन गरेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको समस्या हल हुने दाबी गरेको विभागले अहिलेसम्म हल गर्न सकिरहेको छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भन्नुभयो, “बिनातयारी र अदूरदर्शिताका कारण स्मार्ट लाइसेन्स लागू भएपछि यो हबिगत भएको हो । दलालीका चङ्गुलमा हाम्रा संयन्त्र परेका छन् ।”

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले फ्रान्सबाट १४ लाखप्रति कार्ड जतिसक्दो छिटो ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो, “कार्ड आइसक्थ्यो, कोरोना महामारीले गर्दा ढिलाइ भयो । कार्डको नमुना हेरिसकेका छौँ । अब बढीमा दुई महिनामा आउनेछ ।”

परीक्षा खुला
विभागले उपत्यकामा आइतबारबाट लाइसेन्सको परीक्षा खुला गरेको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्सको ट्रायल परीक्षा कोरोना महामारीको प्रभाव कम हुँदै गर्दा खुला गरिएको विभागले जनाएको छ ।

नयाँ लाइसेन्सका लागि अनलाइनबाट आवेदन दिन सकिने छ । विभागका प्रवक्ता डा. भुसालका अनुसार लाइसेन्सको आवेदन खुलाउँदा वा परीक्षा लिँदा यातायात कार्यालयहरूले सात दिन पहिला सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । कोरोना महामारीको स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाएर परीक्षा सञ्चालन गर्न भनिएको विभागले जनाएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.