काठमाडौं : आइतबार मध्यराति काठमाडौं उपत्यकाको आकाशमा गड्याङगुडुङ सुनियो । सामान्यतः मनसुनको समयमा पानी पर्दा यस्तो आवाज सुनिदैन । प्रि–मनसुनमा भने गड्याङगुडुङ हुन्छ ।
तर, अप्रत्यासित रूपमा सुनिएको गड्याङगुडुङसहितको आवाजपछि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागलाई डुबायो । कयौंलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्यो ।
त्यसो त मौसम पूर्वानुमान महाशाखाले आइतबार राति र सोमबार काठमाडौं उपत्यकामा भारी वर्षा हुने कुनै जानकारी गराएको थिएन । महाशाखाले यो विषयमा कुनै संकेत पाउन पनि सकेको थिएन । तर, भयो उल्टो । राति साढे २ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन हुनेगरी वर्षा भयो । काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु विरलै घटना हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थल केन्द्रमा आइतबार राति १ बजेदेखि सोमबार साँझसम्मको अवधिमा १२१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यसलाई मौसमविद्हरू ‘अति भारी’ वर्षा भएको बताउँछन् । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा सेप्टेम्बर महिनामा यति धेरै वर्षा भएको पहिलोपटक हो ।
‘यसअघि सन् २००८ को सेप्टेम्बर १२ मा ८४.३ मिलिमिटर पानी परेको रेकर्ड छ । गएरातिदेखिको वर्षा रेकर्ड ब्रेक नै हो,’ मौसमविद् निराजन सापकोटाले भने । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबार राति साढे २ बजेदेखि पानी पर्न थाल्यो, सोमबार बिहानैसम्म पानी परिरह्यो ।
‘राति गड्याङगुडुङ पनि भएको थियो, सामान्यतः मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन । प्रि–मनसुनमा यस्तो हुन्छ,’ मौसमविद् अर्यालले भने । आखिर कसरी काठमाडौं उपत्यकामा नसोचेको पानी प-यो त ? मौसविद् अर्याल भन्छन्, ‘अहिले बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो ।’
भारी वर्षा भएसँगै बाग्मती नदीमा जल सतह बढेको थियो । यसबाट नदीछेउका बस्तीहरूमा डुबानमा परे । बल्खुस्थित तरकारी बजारमा पानी पस्यो । बाग्मती कोरिडोरको बाटो पनि डुबानमा प¥यो ।
मौसमविद् अर्यालका अनुसार सोमबार बाग्मती प्रदेशभरि वर्षा भएको थियो । यो समाचार लेख्दा कतिपय ठाउँमा अझै पानी परिरहेको थियो । काठमाडौं उपत्यका मात्र सोमबार बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो ।
‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने । विरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेका छन् । भारी वर्षाका कारण कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमूललगायत क्षेत्र डुबानमा परेको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।