गृहको विज्ञप्तिबारे मानव अधिकार आयोग : अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

गृहको विज्ञप्तिबारे मानव अधिकार आयोग : अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

२२ भदौ, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा गएको साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका घटना तथा एमसीसीलगायतलाई लिएर भइरहेका आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।

गृह मन्त्रालयबाट भर्खरै प्रकाशित विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको हो ।

‘गृह मन्त्रालयबाट २०७८ भदौ १८ र २० गते मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रूपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधि गर्नेमाथि कडा कारबाही गरिने व्यहोराका प्रेस विज्ञप्तिहरू प्रकाशित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्ता विज्ञप्तिहरूबाट नागरिकको शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागी हुन पाउने अधिकारसमेत कुण्ठित हुने आयोगले जनाएको छ ।

साथै संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.