२३ भदाै, काठमाडौं।
नेकपा (एमाले) ले आफ्नो दल विभाजनको मतियार भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग जवाफ मागेको छ । बुधबार प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो बैठकको सुरुवातमै आपत्ति जनाउँदै एमाले प्रमुख सचेतक भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाबाट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने प्रष्ट पारे।
उनले भने, ‘भदौं १ गते हाम्रो दलको अनुशासन उल्लघन गर्ने १४ जनालाई कारबाही गरि पाउँ भनेर हामीले निवेदन दिएका थियौं। हामीले कारबाही गरेको सूचना भदौं २ गते, ३ गते प्रकाशन गर्न हामीले आग्रह गर्यौं। तपाईंले माओवादी केन्द्र र जसपाका सांसदलाई कारबाही गरेको सूचना टाँस्नुभयो । एमालेको हकमा किन तपाईंले फरक व्यवहार देखाउनुभयो?’
‘सभामुखको मर्यादामा बसेको मानिसले समान व्यवहार गर्नु पर्छ कि पर्दैन’ उनले प्रश्न गरे । ‘कारबाही गरेका सांसदबारे सूचना किन सार्वजनिक गर्नुभएन। १३ दिनपछि नियोजित रुपमा एमाले टुक्रयाइसकेपछि यो काम गर्नुभएको छ। हाम्रो बीचमा अनुत्तरीत प्रश्न छ । नेकपा एमाले कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो। दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो,’ उनले प्रश्न गर्दै भने,‘ यसको जवाफ चाहिएको छ।
सभामुखले त्यसको जवाफ दिँदै आफूले नियम अनुसारै गरेको र यो विषय अदालतमा विचाराधीन भएकाले संसदमा कुरा उठान नपाइने बताए । एमाले सांसदहरूको नारावाजी र अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।