२३ भदाै, काठमाडाैँ ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ । नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्ने निर्णय गरेको हो ।
तोकिएको समयअवधिभित्र अध्यादेशहरु पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए। उनले भने – ‘अध्यादेशहरुलाई अगाडी बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपी नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ, तरपनि सबैको बिचमा आवश्यक सहमती कायम राखेर फास्टट्रयाकबाट भएपनि यसलाई अगाडी बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ । नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीमा अगाडी बढ्न आग्रह गरिने पनि बताए । गठबन्धनभित्रै सहमती नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताए । एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडी नबढ्ने उनले विश्वास व्यक्त गरे।