कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव

कांग्रेसमा क्रियाशीलको किचलो : निर्वाचन कार्यतालिका प्रभावित, २७ गते पालिका अधिवेशन असम्भव

२४ भदौ, काठमाडौं ।

पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।

राजधानी काठमाडौंलगायत २० जिल्लाको कियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरासहित २१ जिल्लामा आजसम्म वडा अधिवेशन नै सुरु हुन सकेको छैन ।

डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले भोलि (शुक्रबार) वडा अधिवेशनको मिति तोके पनि जिल्ला कार्यसमितिले भने सदस्यतामा असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको छ ।

२० जिल्लाको क्रियाशील सदस्यता विवाद आज सम्म नटुंगिएकाले २७ भदौमा तोकिएको पालिका अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताए । ‘२१ जिल्लाको वडा अधिवेशन नै सुरु भएको छैन, त्यसैले पालिका अधिवेशन २७ गते सम्भव छैन,’ लेखकले भने, ‘सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन गर्नेकी भन्ने कुरा उठेको छ ।’ त्यस विषयमा नेताहरूसँग आज छलफल भएर निर्णय हुने उनले बताए ।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर पालिकाको अधिवेशन एकै दिन गर्ने विषयमा पार्टीमा कुरा चलेको लेखकले सुनाए । पालिकाको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने निर्णय भएपछि वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको पालिका अधिवेशन पनि २७ गते नहुने देखिएको छ ।

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २० जिल्लामा सदस्यता विवाद नटुंगिएकाले २७ गते नै सबै पालिका अधिवेशन गर्न असम्भव भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.