२४ भदौ, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे बालकोटस्थित निवासमा पुगेको सुमारसहितको प्रतिनिधिमण्डल केहीबेरअघि भेटवार्ता सकेर फर्किएको छ ।
सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए। दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो।

भेटमा ओलीले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएको बालकोट स्रोतले जनाएको छ । सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराइन्। उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन्।
संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली आज बिहान नेपाल आएको हो । चारदिने भ्रमणमा नेपाल आएको टोलीले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ। उक्त एमसीसीको टोली बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेको हो ।