२४ भदाै, काठमाडौँ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर-घरमा पुगेर भेटघाट गरिरहेको भन्दै एमालेका उपाध्यक्ष भीम रावलले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले उपध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत संविधान जारी गर्न लाग्दा र सरकार परिवर्तन हुँदा त्यस्तै हुनेगरेकाे भन्दै एमसीसीकाे सक्रियताबारे असन्तुष्टि जनाएका हुन् । ।
रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने, कस्तो विडम्बना !’ रावलले अगाडि पुकार गरेका छन्, ‘हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सद्बुद्धि देउ !’

बिहीबार बिहान काठमाडौं ओर्लिएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले पहिलो भेट एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् । अहिले उक्त टोलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटिरहेको छ ।
चार दिने नेपाल भ्रमणमा रहेकाे टाेलीले त्यसपछि राजनीतिक दलका अन्य नेताहरूका साथै प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।