भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै

२५ भदाै, काठमाडौँ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको त्रास कायम रहेपनि काठमाडौँ उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन् । कोरोना त्रासका कारण कतिपय भक्तजनले भने घरमै गणेशको पूजा आराधना गर्नेछन् ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.