चाडपर्व लक्षित डेढ अर्बको तयारी कपडा आयात गरिँदै

चाडपर्व लक्षित डेढ अर्बको तयारी कपडा आयात गरिँदै

काठमाडौं : नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लत्ताकपडा व्यापारीहरूले करीब डेढ अर्ब मूल्य बराबरको तयारी कपडा आयात गर्न लागेका छन् । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापारीहरूले एकैपटक ठूलो परिमाणमा लत्ताकपडाको आयात गर्न लागेका हुन् ।

नेपालमा विशेषगरी भारत, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, इन्डोनेशियालगायत मुलुकबाट तयारी कपडाको आयात गर्ने गरिन्छ । चाडपर्वको व्यापारलाई लक्षित गर्दै जुत्ता, चप्पलदेखि सर्ट, पाइन्ट, टिर्सट, हाफपाइन्ट, ज्याकेट, साडी, कुर्तालगायत करीब डेढ अर्ब रुपैयाँ बराबरको सामग्री आयात गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिसुन्दर श्रेष्ठले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार अन्य समयको तुलनामा दशैं र तिहारजस्ता ठूला चाडपर्वका अवसरमा यस्ता वस्तुको व्यापारमा ४० प्रतिशतले वृद्धि हुने भएकाले व्यापारीहरूले त्यही आधारमा ठूलो मात्रामा आयात गर्ने गर्छन् ।

महामारीका कारण आयातकर्ता व्यापारीहरू सम्बद्ध मुलुकमा गएर आयात गर्न नसके पनि अनलाइनबाट सामान अर्डर गर्ने काम भइरहेको उनले बताए । महामारीको प्रभावका कारण सामानको मूल्य बढेकाले यस वर्ष उपभोक्ताहरूलाई महँगो मूल्यमा कपडा किन्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।,यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.