२५ भदौ, काठमाडौं ।
आगामी हिउँद सिजनका लागि १९३ जना आरोहीले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्।
हालसम्म मनास्लुका लागि १८६, धौलागिरीका लागि ४ र कञ्चनजंघा हिमाल आरोहणका लागि तीन जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।
हिउँद मौसममा आरोहण गर्न सहज मानिने यी तीनवटै हिमालहरुमा आरोहण अनुमति लिने आरोहीको संख्या अझै थप हुन सक्ने विभागले जनाएको छ ।
कोरोना संक्रमण कम हुनु र सरकारले नेपाललाई सुरक्षित गन्तव्य भएको सन्देश दिन थालेपछि आरोहीहरुको संख्या बढ्न थालेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।
कञ्चनजंघा र धौलागिरीका लागि एक–एक आरोहणदल रहेका छन् भने मनास्लुका लागि भने १८ वटा आरोहणदल रहेको विभागले जनाएको छ। सरकारले एक आरोहण दलमा १५ जनासम्म आरोही रहनसक्ने व्यवस्था गरेको छ।
कोरोना भाईरस (कोभिड–१९) महामारीकै बीचमा भएपनि यस वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सबैभन्दा धेरै करिव ३७६ जना आरोहीले अनुमति लिएको विभागको तथ्याङक छ।
सरकारले हिमाल आरोहण र पदयात्राका लागि १२ महिना सम्भव रहेको भन्दै हिउँद र अफ सिजनको समयमा राजस्व छुटसहितको सहुलियत दिँदै आएको छ।