२६ भदाै, हुम्ला ।
उत्तरी क्षेत्रका हुम्ला खण्डमा पर्ने नेपाल–चीन सीमास्तम्भ अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली हुम्ला आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली शनिबार हुम्ला आइपुगेको हो ।
सीमा अध्ययन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव आचार्यले टोली शनिबार नेपालगंजबाट सिमकोट आइपुगेको बताए। उनले आजै समितिले हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलहरु, प्रशासक र नागरिक समाजसँग छलफल गर्ने बताए। टोली आज सिमकोटमै बस्नेछ ।
केही दिन अघि सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन टोली गठन गरेको थियो । समितिका सदस्यहरुमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डैगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् । जसमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रको पनि सहभागिता छ । भदौ २७ गते टोली लाप्चातर्फ लाग्नेछ ।
समितिले नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भमा पुग्ने तयारी गरेको छ ।