गृहमन्त्रीको सहयोगमा ४१ जनाको नाम प्रहरी जवानमा निस्केको भन्दै स्टाटस लेख्ने पक्राउ

गृहमन्त्रीको सहयोगमा ४१ जनाको नाम प्रहरी जवानमा निस्केको भन्दै स्टाटस लेख्ने पक्राउ

२६ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए । गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । गृहमन्त्री बालकृष्ण खाँणसमेतलाई धन्यवाद भन्दै फेसबुकमा स्टाटस लेखेपछि उनी पक्राउ परेका हुन् ।

गुरुङलाई शनिबार पक्राउ गरिएको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। मल्लका अनुसार गुरुङसँग सो घटनाबारे सोधपुछ भइरहेको छ।

आफ्नो नामसमेत जोडेर प्रहरी जवान पदमा भर्ना गराएको लेखेपछि उनीसँग गृहमन्त्री खाँण असन्तुष्ट थिए। खाँणले गुरुङलाई कारबाही गर्न प्रहरीलाई निर्देशन पनि दिएका थिए।

पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.