२७ भदौ, काठमाडौँ ।
सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान १० बजेका लागि तय भएको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा केन्द्रित छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ ।
सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै चर्को आलोचना भैरहेको छ । यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । आजको बैठकमा गठबन्धनका दलबाट सरकार सहभागी हुने मन्त्रीको नाम आएमा सम्भवतः पूर्ण दिने जनाइएको छ ।
मन्त्रालय भागबन्डाको विषयमा शुक्रबारको गठबन्धन बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की नै भएको थियो । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयमा दुवै पार्टीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुनेछन् ।