भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

२७ भदौ, बैतडी ।

बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।

लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कारोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि कोरोना नभएर भाइरल ज्वरो रहेको डा जोशीको भनाइ छ ।

मौसममा आएको परिवर्तन र निषेधाज्ञा खलेसँगै ज्वरोका बिरामी बढेका डा जोशीले बताए । “निषेधाज्ञा हटेको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गर्दैनन्, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उनले भने, “मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । सरकारी स्वास्थ्य संस्थामा मात्रै नभएर नीजि मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् ।

केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हल मुस्याचौरका सञ्चालक प्रकाशचन्द्र भट्टले जानकारी दिए । बालबालिकालाई समेत भाइरल ज्वरोले नछाडेको उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.