नेकपा (एस) बागमती प्रदेशसभा संसदीय दलको नेतामा पाण्डे चयन

नेकपा (एस) बागमती प्रदेशसभा संसदीय दलको नेतामा पाण्डे चयन

२७ भदौ, मकवानपुर ।

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।

ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ–१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।

दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति रहेको प्रदेशसभाका सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

बैठकले अष्टलक्ष्मी शाक्य नतेृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको निर्णय पनि गरेको छ । सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको छ भने पार्टीका लागि कार्यालय उपलब्ध गराउन बागमती प्रदेशसभा सचिवालयलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि बैठक बसेको हो ।

बागमती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि आठ पुगेको हो ।

बागमती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहितको नेकपा एकीकृत समाजवादी चौथो, तीन सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, दुई÷दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एकजना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।

प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन् ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.