२७ भदौ, काठमाडौं ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि सोमवारदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । खेल डिश होमको च्यानल एक्शन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ ।
त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।
शृङ्खलाका सबै खेल एक्शन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ ।
लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।