सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

८ भदौ, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । एमाले सांसदको नाराबाजीका कारण संसद बैठक सहज रुपमा चल्न नसकेपछि त्यसकाे समाधानका लागि सभामुखले बाेलाएकाे साे बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको हाे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसानका पार्टीका सचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका प्रतिनिधि भने बैठकमा सहभागी छैनन् ।राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएका छन् ।

एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै उक्त बैठकमा सहभागी नहुने बताएको थियो । एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.