चीनले सीमा मिचेको विषयमा अध्ययन गर्न लाप्चा पुग्यो अध्ययन टोली

चीनले सीमा मिचेको विषयमा अध्ययन गर्न लाप्चा पुग्यो अध्ययन टोली

२८ भदाै, हुम्ला ।

नेपालको सीमा चीनले मिचेको विषयमा अध्ययन गर्न सरकारले गठन गरेकाे सीमास्तभ अध्ययन टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो ।

सरकारले नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद अध्यायन टोली गठन गरेकाे थियाे ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो ।

लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् ।

त्यस्तै, नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमास्तम्म ठाउँको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ रहेको छ । तर, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने चीनले सीमा नमिचेको भन्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.