२८ भदाै, काठमाडौँ ।
पूर्वन्यायाधीशहरूलाई अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमा रोक लगाइएको भन्दै पूर्वन्यायाधीश बलराम केसी सर्वोच्च अदालत पुगेका छन् । पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक नलगाइएको भन्दै वारेस सुशील श्रेष्ठमार्फत केसीले साेमबार निवेदन दर्ता गराएका हुन् ।
सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ (१) र (२) बमोजिम सरोकारवालाको हैसियतले प्रस्तुत मुद्दामा आफूलाई सरिक गराउन भन्दै केसीले रिट निवेदन दिएका हुन् ।आफूलाई नेपालको नागरिक भएकोले धारा १७ (२) (क) को विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक प्राप्त भएको न्यायाधीश केसीको रिट निवेदनमा उल्लेख छ ।
केसीले ‘इन्टरभेनर’ (निवेदक सरिक हुने)को विचार र अभिव्यक्तिको स्वतन्त्रता संविधानले नै सर्वोच्च अदालतको पूर्वन्यायाधीशलाई प्राप्त हुने छैन भनेको अवस्थामा बाहेक ‘इन्टरभेनर’ लाई अन्तर्वार्ता दिएर वा लेख लेखेर आफ्नो स्वतन्त्रता प्रयोग गर्ने मौलिक हक प्राप्त भएको बताएका छन् । उनकाे रिटमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता मानव जातिको महत्त्वपूर्ण अधिकार हो । यो अधिकार खोसी दिने हो भने सबै मानिसको जीवन मानव जीवन हुँदैन । जनावरतुल्य हुन्छ ।’
प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिँदै न्यायाधीश हरि फुयालको एकल इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।
उक्त आदेशले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसी निवेदन लिएर पुगेका हुन् । उनले न्यायाधीश फुयालको इजलासले दिएको आदेश खारेजीको माग गरेका छन् ।