२९ भदाै, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।
साेमबारकाे संसद् बैठक सकिएपछि बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताएका हुन् । ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ,’ प्रधानमन्त्री देउवाले भने ।
अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन खर्च गर्न कठिन भए पनि नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने प्रतिक्रिया दिएका छन् । उनले ५-७ दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सरकारले बजेट पारित गर्न नसकेको हो ।
अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० पछिको सरकारी खर्च कसरी चल्छ भन्ने प्रश्न उठेको छ।