२९ भदाै, काठमाडाैं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टी अझ सुदृढ बनेकाे बताएका छन् । मंगलबार नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामाेडमा गरेकाे अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले केही खराब तत्व बारिरिएपछि एमाले अझ सृदृढ बनेकाे बताए । उनले एमालेलाई सिध्याउने सपना देखेकाहरुकाे सपना आफूहरुले भत्काएर अगाडि बढेकाे बताए ।
माधव नेपालकाे पार्टी नक्कली भएकाे बताउँदै उनले भने – ‘माधव नेपालले नक्कली पार्टी बनाएका हुन्, सक्कली हाेइन, त्याे धेरै टिक्दैन ।’ अध्यक्ष ओलीले माधव नेपाल जसरी पनि एमाले फुटाउने मनसायमा रहेपनि फुटाउन नसकेर चाेइटिएर गएका बताए । जीवन शर्मा गीतकाे प्रसंग सुनाउँदै उनले भने – ‘पिलाे निचाेर्दैमा ओजन घट्दैन, एमालेकाे ओजन घटेकाे छैन, एमालेकाे ओजन झन् झन् बढ्दैछ ।’
आगामी चुनावमा एमाले एक्लै लड्ने भन्दै उनले जहाँ नेपाली त्यहाँ एमाले पुगेकाे बताए । एमाले एकजुट भएर प्रतिक्रियावादी शक्तिकाे मुटु हल्लाइदिएकाे उनले बताए । उनले झापा नेपालकाे राजनीतिक आन्दाेलनमा एउटा विशेष महत्व राख्ने बताए ।